मेलबर्न : वर्षको पहिलो ग्रान्डस्लाम टेनिस ‘अस्ट्रेलियन ओपन’को महिला एकलतर्फको उपाधि सेरेना विलियम्सले जितेकी छन् ।
३५ वर्षीया सेरनाले शनिबार भएको फाइनलमा आफ्नै दिदी भेनस विलियम्सलाई ६-४, ६-४ को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएकी हुन् । दोस्रो वरीयतामा आसीन सेरेनाले जितेको यो कीर्तिमानी २३औं ग्रान्डस्लाम उपाधि हो । ३६ वर्षीया भेनस भने १३औं वरीयताप्राप्त खेलाडी हुन् ।
ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा ३५ वा त्योभन्दा बढी उमेरका दुई खेलाडीले उपाधिका लागि भिडन्त गरेको यो पहिलोपटक हो । सेरेनाले कीर्तिमानी रूपमा सातौंपटक अस्ट्रेलियन ओपनको एकल उपाधि जितेकी हुन् । सेरेना समकालीन खेलकुदमा ग्रान्डस्लाम प्रतियोगिताको सबैभन्दा बढी एकल उपाधि जित्ने महिला खेलाडी बनेकी छन् । उनले पूर्वजर्मन खेलाडी स्टेफी ग्राफको कीर्तिमान तोडेकी हुन् । ४७ वर्षीया ग्राफले सक्रिय खेलजीवनमा २२ वटा ग्रान्डस्लाम एकल उपाधि जितेकी थिइन् ।
ग्रान्डस्लाम प्रतियोगितामा सर्वाधिक एकल उपाधि जित्ने महिला खेलाडी भने अस्ट्रेलियाकी मारग्रेट स्मिथ कोर्ट हुन् । हाल ७४ वर्ष पुगिसकेकी मारग्रेटले आफ्नो समयमा २४ वटा एकल उपाधि जितेकी थिइन् । सेरेनाले सातवटा अस्ट्रेलियन ओपनका अतिरिक्त तीनपटक फ्रेन्च ओपन, सातपटक विम्बल्डन र ६ पटक यूएस ओपनको एकल उपाधि जितेकी छन् ।
सेरेनाले यसअघि सन् २०१५ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । विम्बल्डनकी भने उनी साविक विजेता हुन् । अस्ट्रेलियन ओपन जितेसँगै उनी डब्लूटीए वरीयताको पहिलो स्थानमा पनि फर्किएकी छन् । प्रतियोगिता सुरु हुनुअघि जर्मनीकी एन्जेलिक केर्बर वरीयताको पहिलो स्थानमा थिइन् । केर्बरले सेरेनाबाट नम्बर एक वरीयता खोसेकी थिइन् ।
सेरेना र भेनसबीच हालसम्म नौपटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा भिडन्त भएको छ, जसमा सातपटक सेरेनाले बाजी मारेकी छन् । पछिल्लो पटक सन् २००९ को विम्बल्डनको फाइनलमा यी दुई खेलाडीबीच भिडन्त भएको थियो । भेनस भने करिब साढे सात वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा पुगेकी हुन् । फाइनलमा पराजित भएपछि भेनसले सबैभन्दा पहिले आफ्नी बहिनीलाई अँगालो हाल्दै कीर्तिमानी उपाधिका लागि बधाई दिएकी थिइन् ।
भेनस जारी अस्ट्रेलियन ओपनमा महिला एकलतर्फ सबैभन्दा बढी उमेरकी खेलाडी पनि हुन् । उनी अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने हालसम्मकै सबैभन्दा बढी उमेरकी खेलाडी पनि हुन् । भेनसले हालसम्म दुईवटा ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जित्न सकेकी छैनन् । उनी यसपटक १४ वर्षपछि अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् । उनी यसअघि सन् २००३ मा अस्ट्रेलियन ओपन र सन् २००२ मा फ्रेन्च ओपनको फाइनलमा पुगेकी थिइन् ।
सन् २००३ को अस्ट्रेलियन ओपनको फाइनलमा भेनसलाई बहिनी सेरेनाले नै हराएकी थिइन् । भेनसले हालसम्म पाँचपटक विम्बल्डन र दुईपटक यूएस ओपनको उपाधि जितेकी छन् । ‘उनी (भेनस) मेरो प्रेरणाकी स्रोत हुन्, उनको साथ नभएको भए म २३ वटा ग्रान्डस्लाम उपाधि जित्न सक्ने थिइनँ ।
मेरो हरेक सफलतामा उनको महत्वपूर्ण हात रहँदै आएको छ, धन्यवाद दिदी’, उपाधि जितेपछि सेरेनाले भनिन् । पुरुष एकलतर्फको फाइनल खेल भने आइतबार स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनका राफेल नाडालबीच हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...