काठमाडौं, ११ माघ । केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विहेको निम्तामा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भए । निम्ता स्वीकार्दै शीतल निवास पुगेका शाहले बरबधुलाई आशीर्वाद दिए ।
राजगद्दीबाट बाहिरिएपछि विहेको अवसर पारेर पहिलो पटक उनी राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारीको निम्ता मान्न पूर्वराजा विवाहमा सामेल हुन शीतल निवास पुगेका हुन् ।
पूर्वराजाले देशको चिन्ता गरेर वक्तव्य निकाल्दा दरबार हत्याकाण्ड छानविन गरी जेल हाल्छु भन्ने प्रचण्डले विखण्डनकारी सीके राउतले खुलेयाम देश टुक्राउने गतिविधि गरिरहँदा कारवाही गर्नुको साँटो उनीविरुद्ध एक शब्द पनि बोल्नै सकेका छैनन् ।
पूर्वराजा शीतल निवास पुगेपछि विभिन्न टिप्पणीहरु भए । राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भयो । कसैले त्यसलाई सकारात्मक तरिकाले टिप्पणी गरे भने कसैले नकारात्मक ।
पूर्वराजा शाहको शीतल निवास प्रवेशले नेताहरु सशंकित भए । यो विषयले सत्ताधारी पार्टी माओबादी केन्द्रमा बढी स्थान पायो । प्रधानमन्त्री तथा एमाओबादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ले पूर्वराजाको शीतल निवास प्रवेशलाई अशुभ संकेत ठाने । उनले मुख खोलेरै भने– ‘पूर्वराजा ज्ञानेन्द्र शाह शीतल निवास आउनु अशुभ संकेत हो ।’
उनले ज्ञानेन्द्रको शीतल निवास प्रवेशलाई ‘संघीय गणतन्त्र’ डिजाइन भन्न समेत भ्याए । देश र संविधान विरोधी अभिव्यक्ति दिँदै आएका सीके राउतको पक्षमा एक शब्द नबोलेका प्रचण्डले पूर्वराजाई संविधान असफल पार्न लागेको आरोप लगाउन समेत पछि परेनन् ।
उनले पूर्वराजालाई एमाले नेता केपी शर्मा ओलीसंग मिलेर संविधान असफल पार्न र प्राप्त उपलब्धी उल्ट्याउने खेलमा लागेर चुनाव नहुन दिने षडेन्त्र रचिरहेको समेत आरोप लगाए ।
सीके राउतलाई समर्थन !
प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिबाट उनी देशविरुद्ध विखण्डनकारी अभिव्यक्ति दिने सीके राउतलाई समर्थन गर्छन् भन्ने बुझिन्छ । देशको चिन्ता गर्दै बेला बेला वक्तव्य निकाल्दै आएका र विहेको निम्तोमा शीतल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई उनले देश विरोधी ठाने । आन्तरिक रुपमा जुनसुकै रणनीति भएपनि पूर्वराजाले बेला बेलामा देशको परिस्थितीका बारेमा चाँसो राख्दै आएका छन् ।
उसो त राष्ट्रपति भण्डारीले व्यक्तिगत सम्बन्धका कारण पनि पूर्वराजालाई छोरीको विहेमा निम्ता गरेको हुन सक्छ । छोरीको विहे भनेको राष्ट्रपतिका लागि पारिवारिक कुरा पनि हो ।
यसो भन्नुको अर्थ देशमा राजतन्त्र आवश्यक छ पनि भन्न खोजिएको होइन् । राजाको बारेमा कडा अभिव्यक्ति दिने प्रधानमन्त्री प्रचण्डले देश विखण्डन गर्ने अभिव्यक्ति दिने सीके राउतको विरुद्ध एक शब्द बोल्न किन सकेनन् ? यो अहिले जनचाँसोको विषय बनेको छ ।
आज नेपाली जनता सीके राउतविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनलाई पक्राउ गर्नुपर्छ भन्दै आवाज उठिरहेको छन् । तर, त्यसको सुनुवाई प्रचण्ड नेतृत्वको सरकारले गर्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले देश र संविधानविरुद्ध बोल्ने जोसुकैलाई पनि देशद्रोहीको मुद्दा लगाउन सक्नुपर्छ ।
कुर्सी जोगाउने खेल
आफ्नो कुर्सी जोगाइराख्नकै लागि प्रचण्ड सीके राउतको विरुद्ध बोल्न नसकेका हुन् भन्ने प्रष्टै छ । भारतको शरणमा बसेर देश टुक्राउने अभिव्यक्ति दिँदै सोही कार्यमा सक्रिय रहेका सीके राउत र आफूलाई खुलेआमा भारतीय एजेन्ट भन्ने अमरेशकमार विरुद्ध प्रचण्ड बोल्न सक्दैनन् ।
बर्तमान सरकार निर्माणमा अमरेशकुमारको ठूलो हात छ । यो कुरा लुकाएर लुक्दैन । प्रष्टै छ । राजतन्त्र फर्काउने प्रयास भइरहेको सूचना पाएको भन्ने प्रचण्डले देश टुक्राउने सूचना पाउँदासम्म किन चाँसो राख्न सकेनन् त ?
मधेशलाई स्वतन्त्र देश बनाउने भन्दै मधेशबासीलाई उक्साउने सीके राउतलाई कारवाहीको दायरामा ल्याउनपर्छ की पर्दैन ?
उनले प्रजातन्त्र फर्काउने खेल भइरहेको छ भन्ने सूचना पाएको भए त्यसलाई बाहिर ल्याउनुपर्छ । कसैमाथि रिस पोख्नकै लागि प्रजातन्त्र ल्याउने खेल भइरहेको भनेर साध्य हुँदैन । देशमा कसको र कुन शासन ल्याउने भन्ने निर्णय जनताले गर्छन् । त्यो हुँदै पनि आएको छ ।
कुनै बेला माओबादीलाई नै जनताले देशकै ठूलो पार्टी बनाएका हुन् । तर, नेपाली जनताले देशलाई टुक्राउनुपर्छ भन्ने त चोहका छैनन् नि । कुनै व्यक्ति विशेषले आफूअनुसारको शासन व्यवस्था ल्याउन सक्दैन ।
मधेशलाई टुक्राएर स्वतन्त्र प्रदेश बनाउछु भन्दै अभिव्यक्ति दिइरहेका सीके राउतलाई प्रचण्डले किन कार्वाही गर्न नसकेको त्यो जनताले जान्न चाहन्छ । प्रचण्डले सीके राउतलाई कार्वाही गर्नुको साँटो उनी विरुद्ध एक शब्द पनि बोल्नै सकेका छैनन् ।
उनले बरु एमाले नेता भीम रावलले संघीयता सिध्याउन राष्ट्रपतिकै अगाडि मधेसी मोर्चा तराईका सशस्त्र समूहसंग मिलेर युद्ध गर्दैछन् भनेर हल्ला चलाएको आरोप लगाए ।
उनले त बरु भीम रावलले दिएको यो सूचना सत्य हो वा होइन् भनेर सरकारको तर्फबाट सोधीखोजी गर्नुपथ्र्यो । तर, अखण्डता विरुद्ध अभिव्यक्ति दिने तथा आफूलाई भारतीय एजेण्ट भन्ने अमरेशकुमार सिंहको आड तथा जुक्तीमा प्रधानमन्त्री बनेका प्रचण्डले त्यसको विरोध गर्न सकेनन् ।
प्रचण्ड प्रवृत्तिले अब जनता बर्तमान शासन व्यवस्थाप्रति वाक्क दिक्क भएका छन् । उनले यहि प्रवृत्तिलाई दोहोर्याइराख्ने हुन् भने उनको पाटी मात्रै होइन् देशकै दुरावस्था हुन सक्छ । देशको अगाडि पार्टीनै पतन हुनु सामान्य नै हो । उनले यो कुरा बुझ्न जरुरी छ ।
कसैको निर्देशनमा परिचालित हुुनभन्दा प्रधानमन्त्री प्रचण्डले जनताको बहुमतको कदर गर्दै निर्णय लिन सक्नुपर्छ । अनि मात्रै देशले गति लिनेछ ।
साभार: दैनिक नेपाल


0 comments
प्रतिक्रिया दिनुहोस्...