-->
मलेसियामा डुङ्गा दुर्घटना, १२ को मृत्यु, २५ बेपत्ता

क्वालालम्पुर, ११ माघ, मलेसियामा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अन्य २५ जना हराइरहेका छन् । मृतकहरुको शव तान्जुङ लेमन सामुन्द्रिक तिरमा भेटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । “मृतकमध्ये दुई जनाको शव सुरक्षाकर्मीले पछि भेटाएका छन्, ती दुवैजना पुरुष छन्, उनीहरु इन्डोनेसियाली नागरिक भएको हुनसक्ने विश्वास गर्न सकिन्छ,” एक अधिकारीले भने ।
इन्डोनेसियाका अवैध आप्रवासी चढेको ढुङ्गा दुर्घटना भएको बताइएको छ । दुई जनालाई उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ढुङ्गामा चालीसजना यात्रु रहेका थिए । जवकी नौ मिटर लामो सो डुङ्गामा १५ जनाको मात्र भार क्षमता रहेको थियो ।
भार क्षमता भन्दा अत्याधिक यात्रु र खराब मौसमका कारण डुङ्गा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । हराइरहेकालाई खोज्नका लागि सुरक्षाअधिकारी खटिएका छन् ।
मुख्यतया निर्माण र कृषि सम्बन्धी काम खोज्न इन्डोनेसियाबाट यसैगरी जोखिमपूर्ण यात्रा गरेर धेरै मान्छे मलेसिया आउने गर्दछन् । गत नोभेम्बरमा पनि अवैध इन्डोनेसियाली आप्रवासी कामदार लिएर फर्केको तीव्रगतिको डुङ्गा दुर्घटना हुँदा ४० जना हराएका थिए ।
तस्विर: फायल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.