-->
सुनचाँदीका अध्यक्ष नै सुन नपाएर हैरान, यस्तो छ सुन अभाव हुनुका पाँच कारण

काठमाडौं माघ १५ – सुनको कारोबार चम्किने यो समयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य पसल बन्द गरेर बस्नुभएको छ । सुन पाउनै छाडेपछि उहाँ पसल भत्काएर मर्मत गरिरहनुभएको छ ।
सुनचाँदी व्यवसायी महासंघको चार वर्ष नेतृत्व सम्हालेर केही समयअघि मात्रै निवर्तमान अध्यक्ष भएका शाक्यले समेत सुन किन्न नपाएपछि बजारमा कतिसम्म सुनको अभाव भएको होला ? अनुमान गर्नुहोस् । सुन अभाव हुनुको पाँच कारण यस्ता छन् ।
कारण १ : माग धेरै, आपूर्ति कम
देशभर झण्डै २३ हजार सुनचाँदी व्यवसायी छन् । ती व्यवसायीले दिनको एक तोलाको मात्र कारोबार गर्दा पनि दिनको २३ हजार तोला अर्थात २ सय ६८ किलो सुन खपत हुन्छ । तर दैनिक १५ किलो सुन मात्र आपूर्ति भइरहेको छ । मागको तुलनामा आपूर्ति अति नै कम हुने भएकाले सुनको चरम अभाव भएको हो ।
विवाहको यो मौसममा दिनकै ३० किलो सुनको माग हुने व्यवसायी बताउँछन् । सुनको माग बढी हुने माघ फागुनमा दैनिक १५ किलो सुन हात्तीको मुखमा जिरा जस्तै भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले न्यूनतम दैनिक ३० किलो सुनको माग छ ।
कारण २ : काँचो सुनमा लगाएको प्रतिबन्ध
सरकारले झिटी गुण्टा आदेशमा संशोधन गर्दै चालु आर्थिक वर्षको साउन १ गतेदेखि विदेशबाट फर्कने नेपालीले काँचो सुनचाँदी ल्याउन नपाउने व्यवस्थाले पनि सुन अभाव चर्किएको हो । यस व्यवस्थाले विदेशबाट घर फर्किएका नेपालीले आफ्नो परिवारका लागि चाहिने सुन पनि नेपालमै किन्नुपरेपछि सुनको खपत बढेको हो ।
सरकारले झिटी गुण्टा अन्तर्गत दिएको सुविधामा सुनतस्करीको संलग्नता भेटिएपछि नियन्त्रणका लागि भन्दै साउन एक गतेदेखि काँचो सुन बोक्न प्रतिबन्ध लगाएको थियो ।
कारण ३ : अवैध सुन कारोबारी पक्राउ
प्रहरीले पुसको अन्तिम साता साढे ३३ किलो सुन पक्राउ गर्यो । साउदी अरेबियाबाट फर्किएका गोपालबहादुर शाहीको साथबाट बरामद गरिएको ठूलो परिमाणको त्यो सुन बरामद नगरिएको भए व्यापारीसम्म पुग्थ्यो ।
त्यसपछि पनि अवैध बाटोबाट ल्याएको सुन प्रहरीले धमाधम जपथ गरिरहेको छ । तस्करको सुनले बजार प्रवेश गर्न नपाउँदा पनि सुनको अभाव भएको विश्लेषक बताउँछन् ।
कारण ४ : सुनको मूल्यमा आएको गिरावट
सुनको मूल्यमा आएको गिरावटले पनि सुन अभाव भएको राष्ट्र बैंक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना बताउनुहुन्छ ।
उहाँका अनुसार जब जब सुनको भाउ घट्छ त्यत्तिबेला सुन किन्ने होड चल्छ । भाउ बढेको बेला बेच्ने मनसायले पनि कतिले सुन सञ्चित गर्न थाल्छन् त्यसैले सुनको अभाव भएको हो ।
कारण ५ : अव्यवहारिक बाँडफाँड
बैंकहरु मार्फत दैनिक आयात भइरहेको १५ किलो सुन मध्ये साढे सात किलो सुनचाँदी व्यवसायी महासंघ र बाँकी साढे सात किलो आभुषण महासंघ, हस्तकला महासंघ लगायतले बाँडफाँड गर्दै आएको छ । यसले वास्तविक व्यवसायीसम्म सुन पुग्दै पुग्दैन या त एउटै व्यक्तिले चारैतिरबाट सुन कुम्ल्याइरहेको हुन्छ ।
अभाव नभएको बेला असर नपारेपनि यसले सुनको माग उच्च भएको बेला बजार प्रभावित बनाउने नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउनुहुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.