डोनाल्ड ट्रम्पले अमेरिकाका ४५ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै शुक्रबारदेखि औपचारिक कार्यभार सम्हाल्दै छन्। उनी राष्ट्रपति भएकोमा अमेरिकाभित्रै पनि त्यहाँकै कतिपय नागरिकहरु खुसी छैनन्। अब यिनले कस्तो नीति ल्याउने हो, हामीलाई के कस्तो असर पर्ने हो भन्दै त्यहाँ एक किसिमको त्रास छ। तर नेपालमा भने खुसीको माहौल एउटा वर्गमा रहेछ। कुन वर्ग? जग्गा व्यवसायी। उनीहरुले शनिबार खुसीले गद्गद् भएर शुभकामनाको औपचारिक कार्यक्रमसमेत गर्न भ्याएका छन्। हेर्नुस् त मिडियामा आएको निमन्त्रणा भित्र।
दुःखको कुरा, यी नेपालका घर जग्गा व्यवसायीलाई अमेरिकी राष्ट्रपतिको वास्तविक नाम भने थाहा रहेनछ। उनीहरुले लेखेका छन् डोनाल ट्रम्म। उनको परिचय पनि रियल स्टेट व्यवसायीका रुपमा दिइएको छ।
नेपालीहरु शक्तिका पूजारी हुन् भन्ने त थाहा थियो तर नातासम्बन्ध गाँस्न पनि यति माहिर छन् भन्ने कुरा चैँ नेपालका घरजग्गा व्यवसायीहरुले देखाइदिए। 1अब यो रिपोर्ट नेपालस्थित अमेरिकी दूतावासले विदेश मन्त्रालय मार्फत् ह्वाइट हाउसतिर पठाइदिए यहाँका घरजग्गा व्यवसायीहरुलाई अमेरिकी भिसा पाउन चाहिँ सजिलो हुन्थ्यो कि ! कि कसो?


0 comments
प्रतिक्रिया दिनुहोस्...