-->
गोरखामा फेरि बनाइयो भिर खोपेर पुल (फोटो फिचर)

गोरखा, माघ १५ – गोरखाको चुम्चेत गाविसमा रहेको सर्दी भिरमा क्यान्टिलिभर पुल निर्माण गरिएको छ । स्यार खोलामाथि सर्दी भीरमा ९० मिटर लामो क्यान्टिलिभिर पुल अर्थात भिर खोपेर बनाइने पुलको निर्माण सकिएको हो ।
गोरखाको उत्तरी विकट गाविस छेकम्पार जाने बाटो २०७२ सालको भूकम्पले अवरुद्ध भएपछि क्यान्टिलिभर पुल बनाएर बाटो बनाउन थालिएको हो । सर्दी भिरमा चार ठाउँमा क्यान्टिलिभर पुल र ढुंगाको पर्खालले जोडेर बाटो बनाउन लागिएको हो ।
बेलायती सहयोग नियोग युके एड र सामर्थ संस्थाको आर्थिक सहयोगमा निर्माण भएको पुलको डिजाइन तथा परामर्शदाताको रुपमा एएफ आइटेको रहेको छ भने पुल निर्माणको ठेक्का काठमाडौंको बालाजु यन्त्रशालाले पाएको थियो । बालाजु यन्त्रशालाले मंसिरको दोस्रो हप्ताबाट काम सुरु गरेर माघ १० गते पुल निर्माणको काम सकेको हो ।
स्यार खोलाबाट औसतमा ५५ मिटरमाथि भीरमा २९ मिटरको एउटा, २३ मिटरका २ वटा र १५ मिटरको एउटा गरी ४ वटा क्यान्टिलिभर पुल बनाइएको ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माणको काम सकिएपनि ढुंगाको पर्खाल लगाएर पुललाई जोडेर बाटो बनाउने काम भने भैरहेको छ ।
यो नेपालको दोस्रो क्यान्टिलिभर पुल हो । यसअघि गोरखाकै केरौजा गाविसको यारुवगरमा क्यान्टिलिभर पुल बनाइएको थियो । केरौजामा क्यान्टिलिभर पुल बनेपछि मनासलु पदमार्गमा जाने साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न सजिलो भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.