-->
सतिदेवीको गुह्य पतनबाट भएको स्थान गुह्येश्वरी

माघ ७, काठमाडौं । नेपलका विभिन्न शक्ति पिठमध्ये गुह्येश्वरी एक प्रमुख शक्ति पीठ हो । काठमाडौको गोलढुंगा नजिक गुह्येश्वरीको पुरानो मन्दिर रहेको छ । यहाँ महादेव पत्नि सतीदेवीको गुह्य पतन भएको थियो । त्यसैले यी देवीको नाम गुहृयेश्वरी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नेपालको संस्कारअनुसार राजा तथा महाराजाहरुले शक्ति पीठ उत्पन्न भएको स्थानमा दर्शन नगर्ने परम्परा अनुसार पछि गुह्येश्वरीलाई पशुपति परिसरभित्र गौरीघाट नजिक स्थापना गरिएको हो ।
अन्य समयमा भन्दा माघ महिनामा यी दुबै शक्ति पीठमा विशेष मेला लाग्ने गर्दछ । महिना भरिनै यहाँ विशेष मेला लाग्ने भएकाले यसको महत्व अझ बढ्न गएको छ ।
नेपाल राष्ट्रको गौरव, शौर्यता र साहस प्रदान गर्ने भगवतीको रुपमा गुह्येश्वरीको पूजा गरिन्छ । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।
यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा तथा आराधना गरेको जनविश्वास छ । सतीदेवीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् ।
यो शक्तिपीठ पुराणमा वर्णित ५१ शक्तिपीठमध्ये एक भएकोले सारा संसार का हिन्दु धर्मालम्बीहरूको लागि विशेष पुजनीय स्थलको रुपमा रहेको छ । पुराणका अनुसार यहाँ सतीदेवीको दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवीको योनी पतन भएको किम्बदन्ति रहेको छ्र ।
तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ । डी.सी. सरकारले कुब्जिका तन्त्र, तन्त्र चूडामणि, वृहन्नीलतन्त्र, पीठ निर्णय (महापीठ निरूपण) आदि प्राचीन तन्त्रशास्त्रका आधारमा नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ । त्यस्तै, देवी भागवतले नेपाललाई ‘गुह्यकाल्या महास्थान नेपाले यत प्रतिष्ठितम्’ भनेर ‘शक्तितीर्थ’ का महान् स्थल मानेको छ । पाशुपत क्षेत्रमा अवस्थित यसपीठलाई ‘उत्तराम्नाय’ की नायिका मानिन्छ ।
अथर्ववेदका ६ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुह्योपनिषद्ले गर्दै गृह्येश्वरीको वासस्थललाई ‘शाक्ततीर्थ’ मानेको छ । महांकालसंहिताको कालीखण्डमा गुह्येकालीको १८ मन्त्र र १८ विग्रहको उल्लेख पाइन्छ । यसको विभेद मूर्ति तथा चित्रकलामा एघार प्रकारबाट क्रमशः एक, दुई, तीन, पाँच, दस, बीस, एक्काइस, छत्तीस, साठी, अस्सी र सय टाउका भएको गुह्येकालीको चित्रमा महांकाल संहितामा छ ।
तन्त्र र पुराणमा गुहृयश्वरी पीठलाई एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको छ । दुवै मत भगवती गुह्येश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ । बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड (नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुह्येपतन भएको श्लेष्मान्तक वनमा भगवती गुह्येश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.