काठमाडौं, माघ ११ – पछिल्लो समयमा सिनेमा हलबाट छुट्नासाथ यु-ट्युबमा रिलिज गर्ने चलन आएको छ । हलमा करोडौँ कमाएका सिनेमाहरु यु-ट्युबमा पनि सफल हुन्छन् र हलमा औसत भनिएका सिनेमाले पनि यु-ट्युबमा दर्शकको राम्रै साथ पाउँछन् ।
तर कहिले काँही भने चलेका स्टारहरुको सिनेमाले पानी पनि भन्न पाएको हुँदैन चाहे त्यो हलमा होस् या यु–ट्युबमा । यु–ट्युबमा एक महिनायता रिलिज भएका केही सिनेमा जसले हलमा दर्शकको माया पाए र केही दिनमै करोड क्लबमा सामेल पनि भए ती यु–ट्युबमा आएपछि दर्शकको साथ कत्तिको पाए त ?
डेढ एक हप्तादेखि छक्का पञ्जाले गरेको छ एक नम्बर कब्जा
दीपा श्री निरौलाको निर्देशनमा बनेको सिनेमा छक्का पञ्जाले रिलिज भएको दिनदेखि नै यु–ट्युब ट्रेण्डिङको नम्बर एक कब्जा गरिरहेको छ । रिलिज भएको झण्डै डेढ हप्तामा सिनेमालाई झण्डै ६० लाख पटक हेरिएको छ । अचानक फेसबुकमा भाइरल भएपछि सिनेमालाई यु–ट्युबमा सार्वजनिक गरिएको थियो । सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, केदार घिमिरेलगायत हाँस्य कलाकारहरुको बाहुल्यता छ ।
आर्यन र नम्रताको क्लासिकलाई दर्शकको साथ
आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा क्लासिकले हलमा तहल्का नै मच्चाएको थियो । सिनेमा करोड क्लबमा आफ्नो नाम दर्ता गराउन सफल पनि भएको थियो । १४ जनवरीमा यु–ट्युबमा सार्वजनिक भएको सिनेमालाई यो समाचार तयार पार्दासम्म १३ लाख ५० हजारभन्दा धेरै पटक हेरिएको छ । क्लासिक यु–ट्युब ट्रेण्डिङको नम्बर आठमा छ । सुवास गिरीको निर्माण रहेको यो सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमामा नम्रता र आर्यन दृष्टिबिहिनको भूमिकामा छन् । क्लासिक सुवास ईन्टरटेन्मेन्ट प्रालीको यु–ट्युब च्यानलमा उपलब्ध छ ।
पाँच नम्बरमा लुकामारी
श्री राम दाहालको निर्देशनमा बनेको सिनेमा लुकामारीले पनि हलमा मात्रै हैन यु–ट्युबमा पनि दर्शकको साथ पाएको छ । १३ जनवरीमा युट्युबमा सार्वजनिक गरिएको लुकामारीलाई यो समाचार तयार पार्दासम्म १२ लाख ५२ हजार भन्दा धेरै पटक हेरिएको छ । सौगात मल्ल, रिस्ता बस्नेत, सुरवीना कार्की र कर्माको मुख्य भूमिका रहेको लुकामारीले यु–ट्युब ट्रेण्डिङको पाँचौ स्थान कब्जा गरेको छ । लुकामारीलाई बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
सेतो बाघलाई दर्शकको साथ
१० जनवरीमा यु–ट्युबमा रिलिज भएको सिनेमा सेतो बाघ हलमा रिलिज भएको र दर्शकले मन पराए नपराएको खासै चर्चा भएन । निर शाह र राजाराम पौड्यालको मुख्य भूमिका रहेको सेतो बाघलाई यो समाचार तयार पार्दासम्म १० लाख भन्दा धेरै पटक हेरिएको छ । सेतो बाघ डायमण्ड समशेरको उपन्यास सेतोबाघमा आधारित सिनेमा हो । सिनेमालाई निर विक्रम शाहले निर्माण गरेका हुन् ।
गरीमा पनि आइन् पुरानो सिनेमाका साथ
गरीमा पन्त पनि केही समय अघिको सिनेमासँगै यु–ट्युबमा रिलिज भइन् । उनको मुख्य भूमिका रहेको सिनेमा सासु, नन्द र भाउजुलाई ओ एस आर डिजिटलले ११ जनवरीमा यु–ट्युबमा सार्वजनिक गरेको हो । सिनेमालाई यो सामाचार तयार पार्दासम्म २ लाख ४८ हजार भन्दा धेरै पटक हेरिएको छ ।
पानी पनि भन्न नपाएकी निशा
निशा अधिकारी अभिनित सिनेमा अपवाद पनि यहि महिना यु–ट्युबमा रिलिज भयो । तर सिनेमालाई दर्शकले खासै साथ दिएका छैनन् । १३ जनवरीमा रिलिज भएको अपवादलाई ३७ हजार भन्दा धेरै पटक मात्रै हेरिएको छ । सुवास कोइरालाको निर्देशनमा बनेको यो सिनेमामा निशा अधिकारी, राजवल्लभ कोइराला, राजु गिरीको मुख्य भूमिका छ । सिनेमा ओ एस आर डिजिटल नामको यु–ट्युब च्यानलमा उपलब्ध छ ।
अनमोल र सृष्टीको गाजलुलाई दर्शकको माया
एक महिनाअघि मात्रै यु–ट्युबमा सार्वजनिक गरिएको अनमोल केसी र सृष्टी श्रेष्ठ अभिनित सिनेमा गाजलुले राम्रै दर्शक पायो । सिनेमालाई यो समाचार तयार पार्दासम्म ३३ लाख ६८ हजार भन्दा धेरै पटक हेरिएको छ । हेमराज बिसीको निर्देशन, रोहीत अधिकारी र हेमराजकै निर्माण रहेको यो सिनेमाले हलमा पनि दर्शकको राम्रो साथ पाएको थियो । सिनेमा सहजै करोड क्लबमा सामेल भएको थियो । गाजलुमा अनमोल र सृष्टीका अलावा मेनुका प्रधान, सलोन बस्नेत गौरभ पहारीको पनि मुख्य भूमिका छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...