लिला निरौला/खोटाङ ।
माघ १६ – ‘कति दिन गाउँघरमा मेलापात, घाँसदाउरा अनि पँधेरामै सीमित हुनु । न पैसा आउँछ न त ज्यान आरम नै पाउँछ । दिन रात दु.ख गर्दा पनि केही उपलब्धी भएन । अब श्रीमान विदेश जानु भएकै छ पैसा पठनईहाल्नु हृुन्छ नी । त्यसैले अब धेरै दुःख गर्दिन ।’
श्रीमान विदेश गएपछि खोटाङको दिक्तेल नगरपालिका–८ कीे शर्मिला राई मगरलाई यस्तै सोच आयो । खर्च गरेर सकौं भन्ने त थिएन तर श्रीमानले विदेशबाट महिनाको झण्डै ५० रुपैयाँ पठाउनुहुन्थ्यो । त्यो घर खर्चमै सकिन्थ्यो । यसले उहाँलाई हैरानी त लाग्थ्यो नै सासु ससुरा पनि सन्तुष्ट थिएनन् ।
त्यसैले उहाँ विदेशको कमाइ कसरी जतन गर्ने, कसरी सदुपयोग गर्ने भन्ने सोचिरहनुभएको थियो । यसैबेला गाउँमा वित्तिय साक्षरता कक्षा सुरु भयो । विदेश गएका परिवारका लागि परदेशको कमाइको सदुपयोग अनि बचत बारे सिकाउने थाहा पाएपछि उहाँ पनि सहभागी हुनुभयो ।
३१ हप्ताको कक्षामा सहभागी भएपछि शर्मिलाको बुझाइ र व्यावहार पूरै फेरिएको छ । वित्तिय साक्षरता कक्षामा सहभागी हुनुभन्दा पहिले उहाँले आफूसँग भएकोबाट महिनाको २० रुपैयाँ आमा समूहमा राख्नुहुन्थ्यो । तर जम्मा गर्ने र खर्च गर्ने क्रम झण्डै उस्तै उस्तै हुन्थ्यो । त्यसैले पैसा जोगाउन सक्नुभएको थिएन । तर वित्तिय साक्षरता कक्षामा सहभागी भएपछि उहाँले बैंकमा महिनाको ३ सय रुपैयाँ जम्मा गर्न थाल्नुभयो । छोराका लागि बाल बचत खाता पनि खोलिदिनुभयो ।
काम गर्न छोड्ने मनस्थितीमा पुगेकी शर्मिलाले अहिले पसल सुरु गर्नुभएको छ । ‘बाटोकै छेउमा घडेरी थियो तर यो ठाउँमा व्यापार गर्न सकिन्छ भन्ने नै सोचेको थिइन तर कक्षामा गएपछि यही ठाउँ व्यापारका लागि राम्रो हुने रहेछ भन्ने पनि बुझें’ शर्मिलाले पसल सुरु गर्नुको कारण पनि सुनाउनुभयो । उहाँले बाटो छेउमा भएको घडेरीमा जस्ताले बेरेर किराना पसल खोल्नुभएको छ । बिहान छोरालाई स्कुल पुर्याउनुहुन्छ अनि दिनभरि यही पसलमा बस्नुहुन्छ ।
हिसाब किताबको अर्थ पनि बुझें
श्रीमानले विदेशबाट पठाएको पैसा शर्मिलाले न सासु ससुरालाई देखाउनुहुन्थ्यो न त अरु कसैलाई नै भन्नुहुन्थ्यो । त्यही भएर त उहाँलाई बेला बेलामा सासुससुराले ‘तेरो श्रीमानले कति पठाउँछ हामीलाई के थाहा ? थाहा पाउन त भन्नुपर्यो नी’ भनरहनुहुन्थ्यो ।
त्यो सुन्दा उहाँलाई विदेशबाट पठाएको पैसामा किन यति धेरै चासो भएको होला जस्तो लाग्थ्यो । तर वित्तिय साक्षरता कक्षामा सहभागी भएपछि यो त आवश्यक रहेछ भन्ने बुझ्नुभएको छ शर्मिलाले । त्यति मात्रै होइन पारिवारिक छलफल र आम्दानी खर्चको हिसाब किताब राख्ने तरिका पनि सिक्नुभएको छ । ‘अहिले त हामी परिवारमा सबैजना बसेर छलफल गर्न पनि थालेका छौं’ शर्मिलाले सुनाउनुभयो ।
शर्मिला अहिले परिवारका सदस्यलाई परिवारको एउटा सदस्य परिवारकै उद्देश्य पूरा गर्न विदेश गएकाले अरु सदस्यबिचमा छलफल गरेर बचाउनुपर्छ भन्ने कुरा सम्झाउनुहुन्छ । उहाँले परिवारलाई सकेसम्म घर खर्च आफै जुटाउनु पर्ने विदेशबाट पठाएको पैसा खर्च गर्न नहुने सिकाइरहनुभएको छ ।
सिकाउने मात्रै होइन उहाँको व्यावहार पनि त्यस्तै छ । घरको नुन भुटुनदेखि छोरालाई पढाउन लाग्ने खर्च उहाँले पसलकै कमाइले पुर्याइरहनुभएको छ । श्रीमानले पठाएको पैसा जतिसक्दो धेरै बचाइरहनुभएको छ । ‘अहिलेदेखि बचत गर्यो भने मात्रै विदेश जानेले सोचेको कुरा पुरा हुन्छ भनेर सम्झाउँछु’ शर्मिलाले भन्नुभयो ।
ती दिन सम्झिदा उहाँलाई त्यतीबेला पैसा चिनेको रहेनछु जस्तो लाग्छ । उहाँलाई कमाउनु भन्दा पनि पैसा बचाउनु ठूलो रहेछ जस्तो लाग्छ ।
उहाँले बैंकको खाता नम्बर श्रीमानलाई पनि दिनुभएको छ । अनि अब त घर बनाउने सोचमा पुग्नुभएको छ । यसले विदेशमा भएका श्रीमान पनि खुशी भएको शर्मिला बताउनुहुन्छ । यो सबै वित्तिय साक्षरता कक्षाले सम्भव भएको उहाँको बुझाइ छ । यसलाई उहाँ जिन्दगीमा बसन्त आएको रुपमा बुझ्नुहुन्छ । त्यसैले भन्नुहुन्छ ‘यो कार्यक्रमले मेरो जीवनमा बसन्त नै छाइदियो ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...