महर्षि वेदव्यासले रचना गर्नुभएको महाभारत ग्रन्थमा अनेकौं महारथी तथा बलशाली राजाहरूको वर्णन छ । यस्तै एक महारथी थिए जरासन्ध । उनको जन्म र मृत्युको कथा रोचक छ ।
जरासन्ध मगध (अहिलेको बिहार) का राजा थिए । उनी अन्य राजाहरूलाई हराएर पहाडी किल्लामा बन्द गर्थे । अत्यन्तै क्रूर राजा जरासन्धले बन्दी राजाहरूलाई मारेर चक्रवर्ती राजा बन्ने अभिलाषा पालेका थिए । भीमसेनले १३ दिनसम्म कुश्ती लडेर जरासन्धको वध गरेका थिए ।
कंसका ससुरा
जरासन्ध मथुराका राजा कंसका ससुरा एवं परम मित्र थिए । उनका दुई छोरी अस्ति र प्राप्तिको विवाह कंससित भएको थियो । श्रीकृष्णले कंसको वध गर्नुभएपछि रिसाएको जरासन्धले प्रतिशोधका लागि मथुरामा १७ चोटि आक्रमण गरे । तर प्रत्येकचोटि उनको हार भयो ।
सय राजाको हत्याको सपना
जरासन्ध भगवान् शंकरको परम भक्त थिए । उनले पराक्रमपूर्वक ८६ राजाहरूलाई बन्दी बनाएका थिए । सयजना राजा जम्मा भएपछि उनीहरूको बलि दिएर उनी चक्रवर्ती सम्राट् बन्ने चाहना राख्थे ।
जन्मकथा
मगधदेशमा बृहद्रथ नामक राजा थिए । उनका दुई पत्नी थिए र दुवैबाट सन्तान भएनन् । सन्तानको कामना लिएर उनी महात्मा चण्डकौशिककहाँ गए र सेवा गरेर सन्तुष्ट बनाए । प्रसन्न भएका महात्माले उनलाई एक फल दिँदै भने, ‘आफ्नी पत्नीलाई यो फल खुवाइदिनू, सन्तान जन्मिनेछ ।’ बृहद्रथका दुई पत्नी भएकाले उनले फल दुई टुक्रा पारेर पत्नीहरूलाई खान दिए ।
समय आएपछि दुवै पत्नी गर्भवती भए । उनीहरू दुवैको गर्भबाट आधी आधी टुक्रा बच्चा जन्मियो । रानीहरू डराएर टुक्रा फालिदिए । त्यही बेलामा जरा नाम गरेकी राक्षसी त्यताबाट जाँदै थिइन् । उनले आफ्नो योगबलले दुईवटा टुक्रा जोडिदिइन् । शिशु पूर्ण भयो र चिच्याएर रन थाल्यो ।
बालक रोएको आवाज आएपछि दुवै रानी बाहिर निस्के र बच्चालाई काखमा लिए । राजा बृहद्रथ पनि त्यहाँ आइपुगे अनि उनले राक्षसीको परिचय मागे । राक्षसीले सबै कुरा साँचो बताइन् । राजा खुशी भए अनि उनले बालकको नाम जरासन्ध राखे किनकि जरा नाम गरेकी राक्षसीले सन्धित गरेकी (जोडेकी) थिइन् बालकलाई ।
यसरी भयो वध
जरासन्धलाई वध गर्नका लागि श्रीकृष्णले योजना बनाउनुभयो । योजनामुताबिक श्रीकृष्ण, भीम र अर्जुन ब्राह्मणको भेष बनाएर जरासन्धकहाँ गए अनि कुश्ती खेल्न चुनौती दिए । जरासन्धले चुनौती दिनेहरू ब्राह्मण होइनन् भनी चिनिसकेपछि भीमसँग कुश्ती खेल्ने इच्छा गरे । तेह्र दिनसम्म लगातार युद्ध हुँदा पनि हारजीतको टुंगो लागेन । चौधौं दिनमा श्रीकृष्णको इशारामा भीमले जरासन्धको शरीर दुई टुक्रा चिरेर वध गरे ।
जरासन्धको मृत्यु भएपछि उनको अधीनमा रहेका राजाहरूलाई मुक्त गरियो । उनीहरूले श्रीकृष्णको आत्रा मानेर युधिष्ठिरलाई चक्रवर्ती सम्राट् माने । श्रीकृष्णले जरासन्धको छोरा सहदेवलाई मगधको राजा बनाउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...